४ नं. वडाको आयोजनामा बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने
९ माघ, हेटौँडा । यहि माघ १२ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ को आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
वडा भरीका संस्थागत तथा सामुदायिक गरी ८ वटा विद्यालयहरुको सहभागीतामा शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । कार्यक्रमले वडाभित्रका विद्यालयहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने उदेश्य राखेको शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताउनुभयो । कार्यक्रममा प्रत्येक विद्यालयहरुबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीहरुको स्टल राखिने, विभिन्न जातजाती र भेषभुषा झल्काउने गरी प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन प्रस्तुति गरिने जस्ता कार्यक्रमहरु समावेश गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
यसैगरी पत्रकार सम्मेलनमा बोल्नुहुँदै वडा अध्यक्ष नवीन सिग्देलले आफुहरु शैक्षिक गुणस्तर अभियानमा लागिपरेको बताउनुभयो । संस्थागत र सामुदायिक विद्यालयहरुबीच समन्वयन र प्रतिस्पर्धा दुवै हुनुपर्ने उहाँको भनाई थियो । प्रदर्शनीलाई करिब १० हजार जना विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले अवलोकन गर्र्र्ने अनुमान गरिएको छ । उक्त शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा ५ लाख रुपैँया खर्च हुने जनाइएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख कृष्ण प्रसाद घिमिरे, हेटौंडा–४ का वडासदस्य जि.एन श्रेष्ठ, सचीव पुष्पराज पौडेल, श्रमिक मा.विका व्यवस्थापन समिति अध्यक्ष विवेक कार्की, भुटनदेवी मा.वि का प्रधानाध्यापक माधव दाहाल लगाएतको उपस्थिति रहेको थियो ।














