वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षिय गरेको छः प्रधानमन्त्री दाहाल
१७ माघ, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षिय कामहरु पनि अघि बढाएको दाबी गर्नुभएको छ ।
बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चुनौतिपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको र यो बीचमा इतिहासले सम्झिने गरी काम अघि बढाएको बताउनुभयो । उहाँले सरकारले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानबिन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोग मार्फत भएका अपराध कर्मको पर्दाफास गरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले चालेका सुधारात्मक कदमहरुकै कारण अहिले क्रमशः अर्थतन्त्र संकटबाट लयमा फर्किरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले जनतामा अब केही हुन्छ की ? भन्ने सकारात्मक सोचको विकास हुँदै गएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नका साथै कानूनी र व्यवहारिक सुनिश्तिता गर्न प्रतिवद्ध रहेको बताउनु भयो । श्रमजीवि पत्रकारहरुका लागि निर्मित कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्नेकुरा राज्यको दायित्वको रुपमा स्थापित गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारले नविनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनिय, जिम्मेवार, जवाफदेही बन्न सो नियमनको प्रणाली अवलम्वन गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरु नियन्त्रणको लागि नभइ नियमन र व्यवस्थापनका लागि भएको बताउनुभयो ।














