प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन

संवाददाता
१९ माघ २०८०, शुक्रबार १२:१३

१९ माघ, हेटौँडा । हेटौंडामा प्रदेश बायोमेडिकल वर्कसपको शुभारम्भ बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ ।
निक साइमन इन्टिच्यूटको सहयोग र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ती केन्द्रको व्यवस्थापनमा बायोमेडिकल वर्कशप स्थापना गरिएको हो । वर्कसपको एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभयो । उद्घाटन पछिको समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री जोशीले आफू मन्त्री भएर आएदेखि बायोमेडिकल वर्कसप स्थापनाको पहल गरेको बताउनुभयो । बागमती प्रदेश अन्तर्गतका १३ वटै प्रादेशिक अस्पताल, आयूर्वेद स्वास्थ्य केन्द्रका उपकरण मर्मत गर्न सहज हुने मन्त्री जोशीले बताउनुभयो । सरकारी अस्पतालमा भएका उपकरणहरू धेरै छिटो बिग्रने गरेको आम मानिसको गुनासो रहेकाले मन्त्रालयले यसबारेमा चासो लिएर जनगुनासो सम्बोधनका काममा मन्त्रालय लागेको बताउनुभयो ।


मन्त्री जोशीले बागमती प्रदेशका अस्पतालको स्तरउन्नती कागजमा मात्रै गर्न लागेको नभई अस्पतालका भौतिक संरचना,जनशक्ति व्यवस्थापन, उपकरण व्यवस्थापन लगायतमा समेत मन्त्रालय लागि परेको बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले अस्पतालको स्तरोन्नति हुँदै जादा उपकरणहरुको समेत स्तरउन्नति आवश्यक हुने बताउनुभयो । स्वास्थ्य उपकरणमा समस्या आएकै कारण सेवामा अवरोध आउन नदिने उद्देश्यले वर्कसप स्थापना गरिएको उहाँले बताउनुभयो ।
वर्कसपले स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य संस्थामा रहेका उपकरणको तथ्यांक संकलन उपकरणको कार्यवस्था जाँच, मर्मत लगायतका कार्य गर्ने निक साइमन इन्टिच्यूटकी निर्देशक अर्चना अमात्यले बताउनुभयो । करीब ७१ लाख रुपैयाँ लागतमा संस्थाले वर्कसप निर्माण गरेको उहाँले जानकारी दिनुभयो । इन्स्टिच्यूटले यस अघि लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशमा वर्कशप स्थापना गरिसकेको छ । आपूर्ति व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाका निर्देशक श्रबण कुमार थापा, स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र कुमार झा, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा लगायतको आतिथ्यता थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*