पूर्वराजालाई माधव नेपालको सुझावः चुनाव जितेर प्रधानमन्त्री बन्नुस्
२० माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिनुभयो । उहाँले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गर्नुभयो । उहाँले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिनुभयो । उहाँले देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताउनुभयो । उहाँले राजतन्त्रले श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको बताउनु भयो । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको बताउनु भयो । उहाँले असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने बताउनु भयो ।
अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताउनु भयो ।














