भ्रष्टचारको प्रकृतिको आधारमा हुने दण्ड र सजायप्रति सरकार निर्मम हुनुपर्छः प्रदेश प्रमुख शर्मा

संवाददाता
२८ माघ २०८०, आईतवार १४:५१

२८ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टचार नियन्त्रणमा सरकार कडाईका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश प्रमुख शर्माले जनताका समृद्धि र आकांक्षालाई सम्बोधन गर्न पनि सरकारले भ्रष्टचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा हेटौंडामा स्थित कार्यालयले गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टचार नियन्त्रणको लागि कानुनमै प्रभावकारी दण्ड र सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो । पद र भ्रष्टचारको प्रकृतिको आधारमा दण्ड र सजायप्रति सरकार निर्मम बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । अख्तियारको दुरुपयोग गरी भ्रष्टचार गर्ने र गराउनेलाई समय मै पहिचान गरिए मात्र सुशासन कायम हुने प्रदेश प्रमुख शर्माको भनाई छ । उहाँले अख्तियारले दिएका सुझावहरुको कार्यान्वयनमा तीनवटै तहका सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।


प्रदेश प्रमुख शर्माले अर्थतन्त्रको योगदानमा जनता अनविज्ञ हुनु भ्रष्टचार नियन्त्रणको प्रमुख कारक तत्व भएको जिकिर गर्नुभयो । उहाँले राजश्वको अपचलन गर्नेको सम्मान र संरक्षण गर्नेको अपमान भएसम्म भ्रष्टचार निर्मुल नहुने उल्लेख गर्नुभयो । प्रदेश प्रमुख शर्माले भ्रष्टचार निवारण र नियन्त्रणमा सामुहिक प्रयास नभए समृद्धिको सपना निरर्थक हुने बताउनुभयो । अख्तियारमा परेका उजुरीहरुको आयोगले निष्पक्षता र निर्भिकताका साथ छानबीन गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।


यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले योजनाहरुलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउँदा पनि अवरोध सिर्जना हुने गरेको बताउनुभयो । मन्त्री चित्रकारले उजुरीहरुको तदारुकताका साथ छिनोफानो गर्न पनि आयोगलाई आग्रह गर्नुभयो । प्राप्त उपलब्धिहरुको संस्थागत विकास गर्न पनि अख्तियारको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा आयोगले गरेको विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । आयोगका हेटौंडा प्रमुख उमाकान्त आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, उपमेयर राजेश बानिंया लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*