फागुन ५ र ६ गते हेटौंडामा अन्तर्राष्ट्रिय सम्मेलन हुने
२९ माघ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा २ दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य आयोजनामा फागुन ५ र ६ गते एभोकाडो एण्ड अर्किड रिसोर्टमा सम्मेलन हुन लागेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै क्याम्पसका प्रमुख पुरनबहादुर जोशीले नवप्रवर्तन र उद्यमशीलनताको प्रवर्घनको लागि क्षमता विकास गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । क्षेत्रीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय उद्यमीहरु त्था उद्यमीय इकोसिस्टमका सरोकारवालाहरुबीच सम्मेलनले नेटवर्किङको भुमिका खेल्नेमा उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । उद्यमशीलतालाई अगाडि बढाउन आवश्यक सीप, ज्ञान र उपकरणहरु प्रदान गर्न पनि सम्मेलनले सहयोग भुमिका खेल्ने प्रमुख जोशीले बताउनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्नुहुँदै उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले सम्मेलनले उद्योग, शिक्षा, सरकार र समुदायका सबै सरोकारवाला पक्षहरुलाई एकै ठाउँमा ल्याउने समेत बताउनुभयो । सम्मेलनमा सहभागिता हुन आवास र खानासहित विद्यार्थीहरुको लागि ४ हजार र व्यवसायीहरुको लागि ६ हजार दर्ता शुल्क समेत तोकिएको छ । सम्मेलनमा विद्यार्थी तथा श्रम बजारमा रहेको सीपको कमीको मुल्याङ्कनमा डिजाइन सोच विकासको लागि कार्यशाला गोष्ठी गरिने आयोजकले जनाएको छ । १२ वटा भन्दा बढी कार्यशाला, ६ वटा सेमिनार र ३ वटा बहस सम्मेलनको मुख्य आकर्षण रहेको छ ।














