बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह सम्पन्न
२ फागुन, हेटौँडा । माघ २५ गतेबाट सुरु भएको बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा पत्रकार भेटघाट गर्दै एक हप्ताभरी भएका कार्यक्रमको बुधबार प्रगती विवरण सार्वनजिक गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न निकायसँगको समन्वयमा ट्राफिक नियम, सवारी अवस्था जाँच, चालकको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनिकरणका लागि १ सय ९८ चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ । बागमती प्रदेश प्रहरी अस्पताल रातोमाटे, स्वास्थ्य कार्यालय मकवानपुर र सामुदायिक अस्पताल हेटौंडाको समन्वयमा स्वास्थय परीक्षण भएको हो ।
यो अवधीमा ३ हजार १ सय ६० जना सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । त्यसैगरी, एक साताभरीमा यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा १६ पटक भाडादर अनुगमन गरिएको उहाँले बताउनुभयो । अनुगमनका १० जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ । यो अवधीमा ग्रामिण सडक लक्षित कार्यक्रम, चालक परिचालक प्रशिक्षण, तीव्र गती र ओभरटेक नियन्त्रण, आरक्षण सिट अनुगमन गरिएको छ । ३ हजार १ सय सवारीमा स्टीकर टाँस गर्नुका साथै १३ हजार भन्दा बढीलाई पर्चा पम्पलेट वितरण गरिएको छ । १ सय २७ वटा सवारीको यान्त्रिक जाँच गर्दा अधिकांश साना सवारीको अवस्था खराब पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा चालू आर्थिक वर्षको फागुन २ गतेसम्म १ सय ३८ सवारी दुर्घटनामा परेका छन् । यो अवधीमा ३६ जनाले ज्यान गुमाएका छन् ।














