लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्रः प्रधानमन्त्री प्रचण्ड
७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरण सहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी भएको समेत उल्लेख गर्नुभयो । प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उहाँले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र मात्रै हुने जिकिर गर्नुभयो । उहाँले वर्तमान व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव हुने बताउनुभयो । कानुनको शासन, मानव अधिकारका मूल्य र मान्यता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट जनहित र लोककल्याणकारी समाज निर्माण गर्न सकिने उहाँको भनाई छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।














