उचित स्थानमा व्यवसाय सञ्चालनको माग गर्दै बसपार्क क्षेत्रका ठेला व्यवसायी आन्दोलित

संवाददाता
८ फाल्गुन २०८०, मंगलवार १४:०६

८ फागुन, हेटौँंडा । उचित स्थानमा ठेला व्यवसाय सञ्चालनको माग गर्दै हेटौंडा १० बसपार्क क्षेत्रका ठेला व्यवसायी आन्दोलित बनेका छन् ।
ठेला व्यवसायको लागि उचित स्थानको माग गर्दै उनीहरुले १० नम्बर वडा कार्यालय परिसरमा मंगलबार धर्ना दिएका हुन् । हेटौंडा १० स्थित प्रस्तावित घण्टाघर निर्माण स्थलमा व्यवसाय गर्दै आएका ३५ व्यवसायीलाई वडा कार्यालयले अन्यन्त्र सारेपछि उनीहरु आन्दोलित बनेका हुन् । मंगलबार ठेला सहित वडा कार्यालय पसिरमा धर्नाका लागि पुगेका व्यवसायी र नगर प्रहरी बीच केहीबेर ठेलम ठेल समेत भएको थियो । वडा कार्यालयले तोकेको स्थान व्यवसायीक रुपले उपयुक्त नभएको उनीहरुको भनाइ छ । वडा कार्यालयले ठेला व्यवसायीलाई काम गरी खाने वातावरण नबनाएको ठेला व्यवसायीको आरोप छ । फुटपाथ क्षेत्रमा व्यापार गर्न पाउनुपर्ने वा वडा कार्यालयले रोजगारी दिनुपर्ने उनीहरुको माग छ ।


यता १० नम्बर वडाका वडा अध्यक्ष फुर्वादोर्जे लामाले ठेला व्यवसायीहको माग पूरा गर्न नसकिने बताउनुभयो । फुटपाथ सबैको सझा सम्पति भएको बताउँदै वडा अध्यक्ष लामाले भोली बुद्धचोक, सीमाचोक लगायतका चोकमा व्यवसाय गर्न पाउँ भन्दै आन्दोलन होला त्यो सबै पूरा गर्न नसकिने बताउनुभयो । उहाँले वडा कार्यालयले तोकेको स्थानमा व्यवसाय सञ्चालन गर्न ठेला व्यवसायीलाई आग्रह गर्नुभयो ।


यसैबीच, १० वडाका जनप्रतिनिधि र ठेला व्यवसायीबीच भएको वार्ता विना निश्कर्ष टुङगिएको छ । मंगलबारको वार्ताबाट आफ्नो माग सुनुवाइ नभएको भन्दै विरोधको कार्यक्रमलाई जारी राख्ने व्यवसायीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*