बागमतीमा साढे ८ लाख बालबालिकालाई दादुरा रुवेला विरुद्धखोप लगाइने

संवाददाता
१० फाल्गुन २०८०, बिहीबार १७:१७

१० फागुन, हेटौँडा । बागमती प्रदेशमा फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुवेला विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सञ्चारकर्मीहरुसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै अभियानमा ८ लाख ४९ हजार तीन सय २५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको बताएको छ । प्रदेशका २ हजार ९ सय केन्द्रमार्फत खोप लगाइने भएको छ । बागमती प्रदेशका चितवन, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम छ । अन्य ९ वटा जिल्लामा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई मात्रै दादुरा रुबेलाको खोप लगाइने निर्देशनालयका निर्देशक दीपक तिवारीले जानकारी दिनुभयो ।
फागुन १३ गते इच्छाकामना गाउँपालिका कुरिनटार स्थित सर्वशान्ति माविको खोप केन्द्रबाट प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अभियानको शुभारम्भ गर्नूहुने बताइएको छ । गत आर्थिक वर्षमा नेपालमा एक हजार तीन सय ५० जनामा दादुरा संक्रमण देखिएको थियो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रमम स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, पूर्व अध्यक्ष राममणी दाहाल लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*