बादरले बालीमा क्षति पु¥याउन थालेपछि हेटौंडा–६, चौघडाका स्थानीय चिन्तित
११ फागुन, हेटौँडा । हेटौंडा–६, चौघडाको विभिन्न स्थानमा बादर तथा अन्य वन्यजन्तुले बालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित भएका छन् ।
वर्षभरि गरिएको खेती भित्रायाउने बेलामा बाँदर, बँदेल, दुम्सी, मृग पसेर विनास गर्ने क्रम बढेससँगै यस क्षेत्रका स्थानीयले जनवारको नियन्त्रणको माग गरेका छन् । उनीहरुले जनावरको नियन्त्रण तथा त्यसबाट भएको क्षतिपूर्तिको माग गर्दै शुक्रबार जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराएका छन् ।
यस वडामा रहेको रानी तथा चुच्चेखोला सामुदायिक वन समूहसँग जोडिएको करिब तीनसय घरधुरीका बासिन्दा वन्यजन्तुबाट पीडित भएका छन् । हेटौंडा–६, न्युरेनी, दिव्यनगर, नवप्रभात, शान्ति, रक्षादेवी र चुच्चेखोला क्षेत्रका स्थानीयले वनजन्तुबाट हुने क्षतिलाई रोक्नका लागि संघर्ष समिति नै बनाएर अगाडि बढ्ने तयारी गरेको नवप्रभात टोल विकास समितिका अध्यक्ष शोभा घिमिरेले बताउनुभयो ।

डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत बसन्तराज गौतमले बाँदरको प्रकोप अहिले देशभरै बढिरहेको बताउनुभयो । बाँदर संरक्षित वन्यजन्तु भएकाले यसलाई मार्न नमिल्ने उहाँको भनाई छ । जंगलमा नै फलफूलका बोटविरुवा रोप्नुपर्ने उहाँले जोड दिनुभयो ।

यता हेटौंडा–६ का वडाअध्यक्ष विष्णबहादुर दाहालले बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न वडा र उपमहानगरले काम गरिरहेको दाबी गर्नुभयो । बाँदरले नबिगार्ने बाली रोप्नु नै तत्कालको लागि उपयुक्त विकल्प भएको उहाँको भनाई छ ।बाँदरबाट हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा मात्रै करीब ३ सय घरधुरी प्रभावित रहेका छन् ।














