बागमती प्रदेश सभामा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन
१७ फागुन, हेटौँडा । बजेट पारित गर्ने बेलामा प्रतिपक्षसंग सरकारले गरेको सम्झौता कार्यान्वयनमा अख्तीयारको पत्र र कानूनी अड्चन देखिएको भन्दै पुरक बजेट ल्याउने कि नल्याउने द्वीविधाका बीच बागमती प्रदेश सभाले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा देश बाहीर रहेकाले पुरक बजेटका विषयमा सत्तापक्षमा छलफल गर्न अप्ठेरो परेपछि समिती गठन गरेर अघि बढ्न सत्तापक्ष र प्रतिपक्ष सहमत भएका हुन् ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठनको प्रस्ताव पेश गर्नुभएको थियो । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकार र प्रतिपक्षीबीच विगतको सहमती कार्यान्वयन गर्ने विषयमा सरकार र प्रतिपक्षलाई सुझाब दिनेगरी समिति गठन गरिएको बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा गठित समितिले फागुन २९ गते दिनको ३ बजे बस्ने बैठकमा समितिको प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिईएको छ ।

समितिले फागुन २० गतेबाट नै काम थाल्ने संयोजक लम्सालले बताउनुुभयो । संविधानको परिधिभित्र रहेर मन्त्रालयका सचिव, कानुन विद्, विज्ञहरुसंग पनि परामर्श गरेर प्रतिवदेन पेश गर्ने संयोजक लम्सालले बताउनुभयो ।
समितिमा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीबाट २–२ जना र हाम्रो नेपाल पार्टीबाट १ जना सांसद् सदस्य छन् । आर्थिक वर्ष २०८०÷८१ को बजेटमा विपक्षी दलका सांसदहरुले दिएका योजना समावेश गर्ने भन्दै गत असार १८ गते सरकार र विपक्षी दलबीच सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै एमाले र राप्रपाले संसद् अवरोध गर्ने चेतावनी दिएपछि बुधबार बसेको सर्वदलीय बैठकबाट विशेष समिति गठन गर्ने सहमति जुटेको हो ।














