बागमतीमा कांग्रेस सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन समेत फिर्ता

संवाददाता
२३ फाल्गुन २०८०, बुधबार १९:१२

२३ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मन्त्रीहरुको सामुहिक राजीनामा पत्र बुझाउनुभएको हो । केन्द्रमा माओवादी केन्द्रसहितका दलसँगको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा बसिरहनु उचित नभएको कारण राजीनामा दिएको नेता लामाले बताउनुभयो । यस्तै कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेता लामाले बताउनुभयो । आफुहरु लोकतान्त्रिक मुल्य मान्यता अनुसार नै चलेको उहाँले उल्लेख गर्नुभयो । वर्तमान सरकारले सदनबाट विश्वासको मत लिन सक्छ कि सक्दैन त्यो स्थिति हेरेर मात्र कांग्रेसले आगामी कदम चाल्ने पनि नेता लामाले स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेस स्थिरताको पक्षमा रहेको समेत दाबी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन धेरै लामो समय सम्म नटिक्ने पनि जिकिर गर्नुभयो ।
बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री लामा सहित वन तथा वातावरणमन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाईमन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन र स्वास्थ्यमन्त्री उत्तम जोशी रहनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*