पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउन पहल
२७ फागुन, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिकामा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ ।
थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वडा कार्यालय र स्थानीयवासी जुटेका हुन् । पालुङ गढीसम्म पुग्नका लागि पैदल मार्ग तथा मनोरञ्जन स्थल निर्माण कार्य सुरु गरिएको छ । २ नं. वडाले पालुङ गढीको संरक्षण एवम् प्रवर्द्धनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरेसँगै स्थानीयले पालुङ गढी पिकनिक स्पोर्ट निर्माण समिति गठन गरेर कामको थालनी गरेका हुन् । वडाबाट विनियोजित बजेट र स्थानीयको दुई लाख ५० हजार श्रमदानमा काम सुरु भएको हो । एकसय मिटर लम्बाईको सिँढी निर्माण कार्य सुरु भएको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिनुभयो । ६० घरधुरी रहेको थाहा–२ गैरीगाउँका प्रत्येक घरले चार दिन श्रमदान गर्ने निर्णय गरेका छन् । एकसय मिटर कालो ढुङ्गाको सिढीँलाई आकर्षक बनाउन दायाँबायाँ फलामे बार र प्रत्येक बारको दुई भागमा एक सय वटा फाइवरको फेम भएको बत्ती राखिने योजना बनाइएको छ ।
“आइ लभ पालुङ गढी” लेखनका लागि अस्ट्रेलियामा रहनुभएका सुरेश थापाले ३५ हजार रुपियाँ, २० फिटको अग्लो फलामको पाता रहेको नेपालको झण्डाका लागि नेपाली सेनाका प्रवेश विष्टले १५ हजार, फलामको कुर्सीका लागि गोविन्द कार्कीले १० हजार, गढी जाने बाटोमा पुग्नको लागि बाटो निर्माणका लागि जग्गा पर्ने उद्धव रानामगर र रामशरण राना मगरले जग्गा उपलब्ध गराउनुभएको छ । वडाले उपलब्ध गराएको बजेटले सिँढी निर्माण मात्रै हुनेभए पछि समितिले अन्य भौतिक संरचना निर्माणका लागि सहयोगी हातलाई आव्हन गरेको छ ।














