राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माद्वारा उम्मेदवारी दर्ता
२८ फागुन, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै सत्तारुढ गठबन्धनका उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभयो । उहाँले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताउनु भयो । दाहाले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै काँग्रेसका उम्मेदवार शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताउनु भयो ।
मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।














