शासन र संविधानको प्रयोग देशको समृद्धिको लागि हुन सकेनः पूर्व उपप्रधानमन्त्री महतो
३० फागुन, हेटौँडा । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिलेको संविधान र शासन प्रणाली सत्ताको लागि मात्रै भएको बताउनुभएको छ ।
उहाँले शासन र संविधानको प्रयोग देशको समृद्धिको लागि हुन नसकेको बताउनुभयो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री महतोले नेपालले ७० वर्षमा ७ वटा संविधान बनाए पनि कुनै पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले २०७२ सालमा जारी भएको संविधानले पनि जनताको अधिकार र पहिचानलाई स्थापित गर्न नसकेको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियानको समेत शुरुवात गर्नुभएका नेता महतोले वर्तमान संविधान जुनसुकै बेला पनि असफल हुन सक्ने जिकिर गर्नुभयो । उहाँले ठुला पार्टीका नेताहरु काण्डै काण्डमा लिप्त भएको समेत आरोप लगाउनुभयो । नेता महतोले सुशासन, समृद्धि, जनताको अधिकार माथि भएको आक्रमणलाई रोक्न नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताउनुभयो ।

नेता महतोले प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएकोमा पनि आक्रोश व्यक्त गर्नुभयो । सबै अधिकार केन्द्रमा राखेर जनतालाई संघीयताको अनुभुति दिलाउन नसक्ने उहाँको भनाई छ । नेता महतोले संघीय लोकतान्त्रिक गणतन्त्रका केही व्यवस्थाहरु त्रुटि पूर्ण रहेको बताउनुभयो । आर्थिक रुपले विपन्नहरुको घरमा लोकतन्त्र, गणतन्त्र पुग्यो कि पुगेन भन्ने विषयमा पनि शासकवर्गहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेता महतोले महन्थ ठाकुर र उपेन्द्र यादव प्रति लक्षित गर्दै कांग्रेस र कम्युनिष्टबाट आएका नेताहरुमा पहिचानवादी चिन्तन नभएको बताउनुभयो । उहाँले पुँजीवादी विचार धाराबाट प्रभावित नेताहरुले अधिकार र पहिचानको लडाईलाई सत्तामा पुग्ने भ¥याङ मात्र बनाएको जिकिर गर्नुभयो ।
नेता महतोले बहुल राष्ट्रिय राज्य अभियानलाई ८२ सालमै सफल बनाउन लागिपर्ने बताउनुभयो ।














