मकवानपुर जिल्लामा अव्यवस्थित बसोबासीको संख्या अत्याधिक
२ चैत्र, हेटौँडा । मकवानपुर जिल्लामा अव्यवस्थित बसोबासीको संख्या अत्याधिक रहेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति मकवानपुरले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा अव्यवस्थित बसोबासीको संख्या १४ हजार ६ सय ५० रहेको छ । राष्ट्रिय भूमि आयोगको प्रणालीमा प्रविष्ट गरिएको तथ्यांक अनुसार जिल्लामा १७ हजार २ सय ५२ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेका छन् । राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य अर्र्जुन प्रसाद चौंलागाईका अनुसार मकवानपुरमा ३ सय ४० भूमिहीन दलित, २ हजार २ सय ६० भूमिहीन सुकुम्वासी र दुई सट्टा भर्ना रहेका छन् । हालसम्म ६ भूमिहीन दलित र ४४ भूमिहीन सुकुम्बासी र ७४ अव्यवस्थित बसोबासीले जग्गाधनी पूर्जा प्राप्त गरेका छन् । भूमीहीन दलित र भूमिहिन सुकुम्बासीलाई निःशुल्क तथा अव्यवस्थित बसोबासीको हकमा मालपोत कार्यालयले निर्धारण गरे अनुसार राजश्व वापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराइएको हो । अव्यवस्थित बसोबासीले २९ लाख ३६ हजार राजश्व नापी कार्यालय मार्फत् आयोगलाई बुझाएका छन् ।
हेटौंडा उपमहानगरपालिको वडा नम्बर ७, ९ र ११ गरी आठ सय भन्दा बढी लाभग्राहीलाई जग्गा दर्ता तथा पुर्जा वितरणको तयारीमा पालिका लागेको चौलागाईले बताउनुभयो । त्यस्तै बागमती गाउँपालिकाको वडा नम्बर १, २ र ६ का एक सय ४० लाभग्राही रहेका छन् । अन्य पालिकामा लगत संकलन कार्य भैरहेको उहाँले बताउनुभयो । भूमि आयोग मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।














