बागमती प्रदेशको मुख्यमन्त्रीमा हानेपाको दाबी
४ चैत्र, हेटौँडा । बागमती प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाल पार्टीले मुख्यमन्त्रीमा दाबी गरेको छ ।
प्रदेश सरकारबारे निर्णय गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकले बागमती सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो । मन्त्री मात्र लिएर सरकारमा सहभागी नहुने आफुहरुको बटमलाइन रहेको बागमती संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले बताउनुभयो । संघीयता रक्षाको मुख्य जिम्मेवारी पाएका दलहरूकै नेतृत्वबाट संघीयता कमजोर बन्दै गएपछि आफूहरूले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने निष्कर्षमा पुगेको उहाँको भनाई छ ।
प्रदेशसभामा पार्टीबाट बागमतीमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी गरी दुई सांसद छन् । ११० सांसद रहेको बागमतीमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी नयाँ गठबन्धनका ५५ सांसद छन् । उक्त पार्टीले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिइराखेको थियो ।
केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा पनि समिकरण बदलिएपछि बागमतीमा सरकार गठनका लागि हाम्रो नेपाल पार्टी निर्णायक बनेको हो । सरकारलाई समर्थन कायम राख्नका लागि मुख्यमन्त्री जम्कट्टेलले दुवै सांसदलाई मन्त्री अफर गरेका थिए ।














