साहित्य संगम मकवानपुरद्वारा ७ जना व्यक्तित्व सम्मानित
१० चैत्र, हेटौँडा । साहित्य संगम मकवानपुरले साहित्य क्षेत्रमा योगदान पु¥याएका ७ व्यक्तित्वलाई सम्मान गरेको छ ।
शनिबार साहित्य संगम तथा सिस्नुपानी नेपालको संयुक्त हलमा सम्मान तथा पुरस्कार वितरणको कार्यक्रममको आयोजना गरी सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । आफ्ना रचना मार्फत् साहित्य क्षेत्रमा अतुलनीय योगदान पुराउनुभएका स्रष्टालाई संघमा स्थापित विभिन्न सम्मानबाट पुरस्कृत तथा सम्मानित गरिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो । तत्कालीन जिल्ला विकास समिति, मकवानपुर र साहित्य संगम मकवानपुर संयुक्त रुपमा स्थापना गरेको मकवानपुर साहित्यश्री सम्मान २०८० साहित्यकार इन्द्रजित शर्मा चौलागाईलाई प्रदान गरिएको छ । साहित्य संगमका पूर्व उपाध्यक्ष समेत रहनुभएका चौंलागाईलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित सम्मान गरिएको हो ।
यस्तै, १५ हजार ५ सय ५ रुपैयाँ राशीकै भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८० बाट कवि कल्पना काफ्ले सम्मानित हुनुभएको छ । उक्त पुरस्कार साहित्यकार विशाल अधिकारीले आफ्ना पिताको स्मृतीमा स्थापना गर्नुभएको हो । विनोद–सुनिता सुवेदी साहित्य सम्मान ललितपुरका कवि तथा निबन्धकार श्रीराम पाण्डेलाई प्रदान गरिएको छ । कविता र निबन्ध क्षेत्रमा सक्रिय पाण्डेले सम्मान स्वरुप प्राप्त गर्नुभएको ११ हजार साहित्य संगम मकवानपुरको अक्षय कोषमा सहयोग गर्नुभयो । यस्तै, मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट साहित्यकार भावना सापकोटा, शुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान कवि तथा गजलकार विश्वनाथ सञ्जेल, रामहरि–देव सम्मानबाट किशन पौडेल, मुक्ति–तारा सम्मानबाट मकवानपुरका हाँस्यव्यङ्ग्यकार सानुभाइ विश्वकर्मा सम्मानित हुनु भएको छ । सबै पुरस्कारको राशी जनही दश÷दश हजार रहेको छ ।
कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार निर्मोही ब्यासको प्रमुख आतिथ्यता रहेको थियो ।














