मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशले ७ औं स्थापना दिवस मनायो
१२ चैत्र, हेटौँडा । मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशले ७ औं स्थापना दिवस मनाएको छ ।
आयोगको कार्यालय रहेको कीटजन्य तालिम केन्द्रको भवनमा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै सातौं स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले प्रदेश व्यवस्थित हुन जरुरी रहेको बताउनुभयो । संविधानले प्रदान गरेका अधिकारलाई संस्थागत गर्नका लागि प्रदेशलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तह जस्तै प्रदेशको पनि स्थायित्व आवश्यक रहेको उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश मातहत कारागार नहुँदा प्यारोल बोर्डले काम गर्न नसकेको बताउनुभएको छ । बोर्डले काम गर्ने वातावरण बन्ने हो भने परम्परागत दण्ड प्रणालीको सट्टा सुधारात्मक प्रणाली विकास हुने उहाँले अपेक्षा गर्नुभयो । उहाँले अब कारागारको संख्या थप गर्न नहुने बताउनुभयो ।

स्थापना दिवसको अवसरमा कार्यालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा सुर्खेतका ओमप्रकाश चालिसे प्रथम हुनुभएको छ । प्रथम हुनुभएका चालिसेलाई सोमबार आयोजित स्थापना दिवसको कार्यक्रममा नगद दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा बारा सिम्रनगढका रितिक यादव दोस्रो तथा सर्लाहीका कृष्णध्वज बस्नेत तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा बैतडीका बासुदेव नाथ र पर्वतकी शुभेच्छा पन्तको निबन्धले सान्तवना स्थान हासिल गरेका छन् । उनीहरुलाई जनही नगद ४ हजार प्रदान गरिएको छ । ‘संघीयताको सुदृढीकरणमा मुख्य न्यायाधिवक्ताको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा देशभरबाट ६७ प्रतियोगीले सहभागिता जनाएको उपन्याधिवक्ता उदयचन्द्र अधिकारीले जानकारी दिनुभयो । प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा रही संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारी समेतलाई कानूनी राय सल्लाह उपलब्ध गराउन मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना गरिएको हो ।














