६७ औं सहकारी दिवस भब्यरुपमा मनाईने
१२ चैत्र, हेटौँडा । सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने नारा सहित ६७ औं सहकारी दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघहरुको समन्वयमा दिवस मनाउन लागिएको हो
सोमबार बागमती प्रदेश स्तरीय ६७ औं सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि चैत्र १४ गते देखि सप्ताहब्यापी विभिन्न कार्यक्रम तय गरेको छ ।
यस अघि नै ६७ औं सहकारी दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भईसकेको छ ।
सहकारी दिवसको अवसरमा हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाईने मूल समारोह समिति संयोजक देवकोटाले बताउनुभयो ।
मूल समारोह समितिको कार्यक्रम अन्तरगत १४ गते प्रदेशभरका सबै सहकारी संघ÷संस्थाको कार्यालयमा ६७ औं सहकारी दिवसको नारा सहितको ब्यानर राख्ने, १५ गते ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, १६ गते देखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, २० गते बिहान ७ बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ संस्थाहरुले दिपावली गरी सहकारी दिवस समापन गरिने मूल समारोह समितिका कार्यालय सचिव गोबिन्द दाहालले जानकारी दिनुभयो ।
सचिवालयले सप्ताहभर प्रदेश भरका सहकारी संस्थाहरुले सञ्चालन गर्ने सहकारी दिवस लक्षित कार्यक्रमहरुको जानकारी प्रदेश सहकारी बिकास बोर्ड वा सहकारी दिवस मूल समारोहको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ । उक्त कार्यक्रमहरुलाई समेत मूल समारोह समितिको कार्यक्रममा समावेश गरिने जानकारी कार्यालय सचिव दाहालले बताउनुभयो ।














