दुई÷चार दिनभित्रै नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्छः महासचिव पोखरेल

संवाददाता
१३ चैत्र २०८०, मंगलवार १७:०७

१३ चैत्र, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया शुरु हुने बताउनुभयो । महासचिव पोखरेलले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको जिकिर गर्नुभयो । उहाँले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताउनु भयो ।
महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभई राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताउनुभयो । महासचिव पोखरेलले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताउनुभयो । उहाँले अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य नभएको पनि स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले अहिलेको सहकार्य न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताउनु भयो ।
महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*