६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम हेटौंडामा सुरु
१४ चैत्र, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ६ महिने मनोसामाजिक मनोविमर्शकर्ता तालिम बुधबारबाट हेटौंडामा सुरु भएको छ ।
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ह्युमन नेपाल संस्थाले तालिमको आयोजना गरेको हो । बुधबार हेटौंडामा एक कार्यक्रमको बीचसामाजिक विकास मन्त्री कुमारी मोक्तानले तालिमको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले सहभागीहरुलाई तालिम प्राप्त गरेपछि दक्ष भई समाजमा देखिएका मनोसामाजिक समस्या समाधान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले आफुले प्राप्त गरेको ज्ञानलाई समुदाय स्तरमा पुगेर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । मन्त्री मोक्तानले आगामी वर्षहरुमा यस्ता तालिमहरुलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्रालयले प्रदेशका १३ ओटै जिल्लाबाट सहभागी छनोट गरी प्रमाणपत्र तह उत्तीर्ण गरेका १५ जना महिलाहरुलाई तालिममा सहभागी गराईएको छ । पहिलो चरणमा सहभागीहरुलाई १० दिनको प्रशिक्षणमा सहभागी गराई कार्यक्षेत्रमा पठाई विभिन्न चरणमा ६ महिनासम्म तालिम प्रदान गरेपछि सहभागीहरुलाई प्रमाणपत्र वितरण गरीने मन्त्रालयका उच्च शिक्षा तथा विज्ञान प्रविधि महाशाखा प्रमुख गोपाल कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले यस आर्थिक वर्षमा यस कार्यक्रमका लागी २० लाख रुपैयाँ बजेट छु्ट्याएको छ ।
तालिममा वरिष्ठ मनोविद विनोद पौडेल र मनोविज्ञ चिकित्सक सफल सापकोटाले प्रशिक्षण दिने ह्युमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले जानकारी दिनुभयो । समाजमा देखिएका मनोसामाजिक समस्या समाधान गर्न मनोसामाजिक परामर्शदाता उत्पादनका लागी तालिमको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।














