संसद अझै पनि पूर्णरुपले स्वतन्त्र हुन सकेनः सभामुख पाठक
१७ चैत्र, हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन पाठकले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ ।
राज्यका प्रमुख तिन निकायहरु स्वतन्त्र र शक्तिशाली भए मात्रै लोकतन्त्र सुदृढ हुने सभामुख पाठकको भनाई छ । चितवनको सौरहामा सम्पन्न सञ्चारकर्मींसंगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले संसद् अझै पनि पूर्णरुपले स्वतन्त्र हुन नसकेको बताउनुभयो । सभामुख पाठकले संसद्को अधिवेशन बोलाउने र अन्त्य गर्ने जिम्मेवारी सभामुखलाई नै दिनुपर्र्नेे धारणा राख्नुभयो । उहाँले स्रोत साधन अपर्याप्त हुँदा पनि संसद् स्वतन्त्र बन्न नसकेको जिकिर गर्नुभयो । सभामुख पाठकले संसद्को औचित्य र आवश्यकतामा बहस गर्नुपर्ने बेला आएको बताउनुभयो ।

यस्तै सभामुख पाठकले संसद् प्रतिपक्षको भएको बताउनुभयो । प्रतिपक्षको रक्षा गर्ने दायित्व सभामुखको भएको उहाँको भनाई छ । सभामुख पाठकले प्रतिपक्षी दलहरुले पनि समितिको सभापति पाउनुपर्छ भन्ने विषयमा सहमति जुट्न नसक्दा संसदीय समितिहरुले नेतृत्व पाउन नसकेको स्पष्ट पार्नुभयो ।
सभामुख पाठकले बागमती प्रदेशसभालाई पारदर्शी बनाउने आफुहरुको लक्ष्य रहेको बताउनुभयो । शुक्रबार र शनिबार गरी दुई दिन भएको अन्तरक्रियामा राष्ट्रियसभामा पूर्व राजेन्द्र फुयाँल र विज्ञ पत्रकार हरिबहादुर थापाले संसदीय रिर्पोटिङको विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।














