बागमतीमा विना विभागीय मन्त्रीको रुपमा रमा आले मगरले लिइन् शपथ

संवाददाता
२० चैत्र २०८०, मंगलवार १०:४४

२० चैत्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
सदनबाट तेश्रो पटक विश्वासको मत लिएकै भोली पल्ट मुख्यमन्त्री जम्कट्टेलले नेकपा एकीकृत समाजवादीकी सांसद् रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री आलेले मंगलबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गरिसक्नुभएको छ । मन्त्री आले एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद हुन् । शपथ ग्रहण पछि सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै मन्त्री आलेले आफ्नो दाबी भौतिक पूर्वाधार मन्त्रालयमा भएको बताउनुभयो । उहाँले मुख्यमन्त्रीले विश्वासको मत दिने समयमा आफू गायब नभएको समेत दाबी गर्नुभयो । मन्त्री आलेले केन्द्रमा बागमती प्रदेश सरकार टिकाउन समर्थन गर्ने निर्णय भएपछि आफू हिडेको र त्यसकारण ढिलाई भएको स्पष्ट पार्नुभयो ।


त्यस्तै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले आफुहरुले पाएको ३ वटा मन्त्रालयको संख्या नघट्ने तर मन्त्रालय भने हेरफेर हुने प्रतिक्रिया दिनुभयो । उहाँले गठबन्धनबीच गठन भएको कार्यदलले मन्त्रालयको पुर्नविभाजन गर्ने बताउनुभयो ।
मन्त्री आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको संख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४, एमालेका १, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । अन्य ४ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*