निर्वाचन व्यवस्थापनसम्बन्धि विधेयक तत्काल संसदमा पेश हुन्छः उपप्रधानमन्त्री लामिछाने
२५ चैत्र, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्ने बताउनुभएको छ ।
आईतवार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले राजनीतिक दलसम्बन्धि विधेयक र निर्वाचन आयोगसम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्ने बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरु र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो । आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरु संसदमा पेश गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताउनु भयो ।
यसैगरी छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्तावप्रति इंगित गर्दै उहाँले त्यसअघि पनि गर्न सकिने धारणा राख्नुभएको हो । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रश्ताव यस अघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उहाँले बताउनु भयो ।
संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताउनुभयो ।














