पारिजातको स्मृति दिवसको अवसरमा आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

संवाददाता
२५ चैत्र २०८०, आईतवार १७:५३

२५ चैत्र, हेटौँडा । आँचल साहित्य कला पुञ्जले विगतमा जस्तै यस वर्षपनि साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गत वर्ष कविता प्रतियोगिता आयोजना गरेको पुञ्जले यस वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ । हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा वैशाख ५ गते प्रतियोगिता आयोजना हुन लागेको आँचल अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो । “नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका” विषयक खुला वक्तृत्वकला प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ । सान्त्वना हुनेले नगद २ हजार प्राप्त गर्नेछन् । आँचल कला पुञ्जले वर्षमा ४ वटा महत्वपूर्ण विशेष कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
आउँदो वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न श्रष्टा सम्मान, विद्यालय स्तरीय एकल गयन प्रतियोगिता, बहस कार्यक्रम लगायत विविध विधाका साहित्यिक प्रस्तूति रहनेछ ।
विद्यालय स्तरीय एकल गायनमा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा अध्यक्ष फुर्वादोर्जे लामा, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरीता दाहाल लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*