हेटौंडाको गुन्द्रकले पहिलोपटक सरकारी मान्यता पायो
२६ चैत्र, हेटौँडा । हेटौंडाको गुन्द्रकले पहिलोपटक सरकारी मान्यता पाएको छ ।
हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंगा महिला कृषि सहकारी संस्थामा आबद्ध महिला कृषि समूहले उत्पादन गरेको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको हो । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुणस्तर मापन पछि गुन्द्रक प्रयोगका लागि उपयुक्त रहेको भन्दै अनुज्ञा पत्र प्रदान गरेको छ । करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो ।
उपमहानगरपालिकाको एक लाख लगानीबाट पहिलो चरणमा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको सागबाट करीब ३ लाखको गुन्द्रुक उत्पादन गरिएको समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो । अनुज्ञापत्र पाएसँगै अब २१ कठ्ठामा साग लगाउने तयारी गरिएको छ । उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । हेटौडा उपमहानगरभित्र रहेका होटल मेनुमा अनिवार्य रुपमा गुन्द्रुक समावेश गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा समेत मायाको चिनोको रुपमा गुन्दु्रक दिने गरेको छ । उपमहानगरपालिका आर्थिक बिकास समितिका संयोजक अनिल बाँनियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सहित बिभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।














