मन्त्री श्रेष्ठद्वारा ज्ञानदा मा.बि.को ३ तले भवनको शिलान्यास
२७ चैत्र, हेटौँडा । हेटौंडा १० मा रहेको ज्ञानदा माध्यामिक विद्यालयको तीन तले भवन निर्माणको शिलान्यास गरिएको छ ।
१८ कोठा रहेको तीन तले भवनको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले भवनको निर्माण संगै शिक्षाको गुणस्तर र बिध्यार्थी संख्या वृद्धिमा विशेष ध्यान पुर्याउन आग्रह गर्नुभयो । २०२८ सालमा स्थापित विद्यालयको अहिलेसम्म आफ्नै जग्गा हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताउदै मन्त्री श्रेष्ठले विद्यालयले जग्गा प्राप्तिको लागि खोजी गर्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा लामा, वडा सदस्यहरु, गोरक्षेश्वर संस्कृत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामकृष्ण थापा, भुटनदेवी मन्दिर समितिका अध्यक्ष राममान श्रेष्ठ लगाएतको उपस्थिति थियो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग कुल १ करोड ६३ लाख रुपैयाँको लागतमा सुरु भएको विद्यालयको निहारिका जेभीले निर्माणको ठेक्का पाएको छ । २०८० पुष २० गते निर्माण सम्झौता भएको बिध्यालय निर्माण कार्य २०८१ पुस १९ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।














