राष्ट्रिय शक्तिको वातावरण नबिगार्न कांग्रेसलाई राष्ट्रपति दिइएको होः प्रधानमन्त्री दाहाल
४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको बताउनुभयो । उहाँले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन काँग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको समेत जिकिर गर्नुभयो । उहाँले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको पुनःगठन भई रहने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताउनुभयो । उहाँले देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाउने समेत उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको समेत दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताउनु भयो ।














