गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुखले गैरकानूनी काम गरेः काँग्रेस

संवाददाता
७ बैशाख २०८१, शुक्रबार १७:३१

७ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली काँग्रेसले ठहर गरेको बताउनुभयो । उहाँले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संधिवानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको आरोप लगाउनुभयो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा १६८ (२) बमोजिम संविधान सम्मत गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखबाट बदनियतपूर्ण ढंगमा फेरि सरकार आह्वान गर्नुलाई पनि असंवैधानिक कदम भनेको छ । संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार नदिएको प्रवक्ता महतको भनाई छ । उहाँले मुख्यमन्त्रीका लागि प्रश्तावित सांसदका विषयमा समर्थन र समर्थन फिर्ताको प्रपञ्च रचिएको भन्दै यसले संसदीय पद्धति र संघीय व्यवस्थाप्रति निराशा उत्पन्न गरेको बताउनु भयो ।
प्रवक्ता महतले संवैधानिक सीमामा रहनुपर्ने प्रदेश प्रमुखको राजनैतिक प्रेरित रवैया भएको भन्दै गैरसंवैधानिक क्रियाकलापलाई राजनैतिक र कानूनी रुपमा नेपाली काँग्रेसले बिरोध गर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*