सशस्त्र प्रहरी बल १४ नं गणद्वारा हेटौंडा अस्पताल सरसफाई
१७ वैशाख, हेटौँडा । १४ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल १४ नं गण हेड क्वार्टर मकवानपुरले हेटौंडा अस्पताल सरसफाई गरेको छ ।
हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरीका टोलीले सोमबार बिहान अस्पताल परिसर सरसफाइ गरेका हुन् । साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन अस्पताल सरसफलाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण हेड क्वार्टर माकवानपुरका निमित्त प्रमुख चिरञ्जीवि प्रसाईँले बताउनुभयो ।
सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्व वहन गर्दै दैनिक हजारौंको संख्यामा सर्वसाधारण उपचारका लागि आउने अस्पताल सरसफाई गरिएको उहाँले बताउनुभयो । अस्पताल परिसर, पार्कंङ क्षेत्र लगायतका स्थान सरसफाई गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाल, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीधर अर्याल, हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी लगायतको सहभागिता थियो ।














