बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

संवाददाता
२३ बैशाख २०८१, आईतवार १८:५५

२३ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापनाको कार्य प्रारम्भ गरेको छ ।
आफ्नै विश्वविद्यालय बनाउने लक्ष्यमा अगाडी बढेको प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनका लागि आइतबार बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको हो । प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा राखिएको कार्यालयको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले संविधानले प्रदान गरेको प्रदेश सरकारको आफ्नै विश्वविद्यालय स्थापना गर्न पाउने अधिकार कार्यान्वयनको चरणमा गएको बताउनुभयो ।
प्रदेश विश्वविद्यालयको कार्यालय स्थापना एउटा महत्वपूर्ण उपलब्धि रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । उच्च शिक्षालाई संविधानले प्रदेशको एकल अधिकार सूचिमा राखेको बताउँदै उहाँले प्रदेशले उच्च शिक्षा ऐनले व्यवस्था गरे नै अनुसार सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको जानकारी दिनुभयो । राजनीतिक हस्तक्षप नहुने गरी बोर्ड अफ ट्रष्टिजको अवधारणा अनुसार विश्वविद्यालयलाई स्वायत्त मोडलमा अगाडी लैजाने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ ।


कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले शिक्षामा विद्यमान कोटा प्रणालीप्रति असन्तुष्टी जनाउँदै कोटा प्रणाली र प्रवेश परिक्षा लिने प्रवृति विरुद्धमा प्रदेश सरकार रहेको बताउनुभयो । कोटा प्रणाली लागु गरेर निजी कन्सल्टेन्सीलाई सहयोग गर्ने कार्य मात्रै भइरेहको मुख्यमन्त्री जम्कट्टेलको भनाई छ । शिक्षामा आमूल परिवर्तन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गदै उहाँले कोटा प्रणाली र प्रवेश परिक्षाको नाममा हुने विकृति विरुद्ध कानुन बनाएर अघि बढ्ने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश विश्वविद्यालयले आवश्यकता र औचित्य पुष्टि गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । प्रदेश विश्वविद्यालयले गुणस्तरीय व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाइ छ । अब बन्ने विश्वविद्यालय विशिष्ट प्रकारको शिक्षा दिने विश्वविद्यालय बन्नुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भिष्म कुमार भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु सहित सांसद्हरुको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*