नेवार र तामाङ समुदायले नेवाः तामाङ भाषा दिवस मनाए
२४ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई पनि प्रयोगमा ल्याएको खुशीयालीमा नेवार र तामाङ समुदायले खुशी व्यक्त गरेका छन् ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन लागू भएको अवसरमा नेवाः देय दवु बागमती प्रदेश, नेपाल तामाङ घेदुङ प्रदेश समिति र नेवाः देय दबु स्वनिगः विशेष प्रदेश समितिले संयुक्त रुपमा प्रदेश राजधानी हेटौंडामा नेवाः तामाङ भाषा दिवस मनाएका हुन् । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा तामाङ भाषा र नेपाल भाषा दिवस तथा नेवाः साँस्कृतिक संग्राहलय शिलान्यास समारोह आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा वनस्खण्डीदेवी मन्दिर परिसरमा निर्माण हुन लागेको नेवारी नेवाः साँस्कृतिक संग्रहालयको शिलान्यास समेत गरिएको छ ।

नेवार जातिका भेषभूषा, भाषा, कला, संस्कृतिकोे संरक्षण गर्ने हेतुले संग्राहलय निर्माण गर्न लागिएको नेवा देय दबु बागमती प्रदेश समिति अध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभयो । यसअघि भाषा दिवसको अवसरमा तामाङ र नेवार समुदायले ¥याली निकालेका थिए ।
नेवारी तथा तामाङ समुदायको सांस्कृतिक झाँकी सहितको ¥याली हेटौडाको बुद्धचोकबाट सुरु भई नगरको विभिन्न स्थान परिक्रमा गर्दै कार्यक्रम स्थल हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरसम्म पुगेको थियो । उक्त अवसरमा नेवार समुदायबाट सबै सहभागीलाई सम्यबजीको व्यवस्था समेत गरिएको थियो ।














