सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरले १४ औं स्थापना दिवस मनायो
२६ वैशाख, हेटौँडा । सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरले १४ औं स्थापना दिवस मनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) गणेश ठाडामगरको प्रमुख आतिथ्यतामा हेटौंडामा विशेष समारोहमा आयोजना गर्दै स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै डिआइजी ठाडा मगरले सिमित श्रोत र साधनका बाबजुत पनि सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । सशस्त्र प्रहरीले व्यवसायिकता, इमान्दारिता र बफादारितालाई कार्यशैलीको मूल मन्त्र बनाएर राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै अगाडी बढीरहेको उहाँले उल्लेख गर्नुभयो । डिआइजी ठाडा मगरले व्यक्तिगत भन्दा राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर कार्य गर्न सकल दर्जालाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भूर्तेलले आफ्नै जमिन र भवनको अभावकाबीच पनि संगठनले अबलम्बन गरेका कार्ययोजनालाई कार्यान्यवन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको बताउँदै प्रमुख भूर्तेलले यस अवधीमा शसस्त्र प्रहरी बल नेपाल नं. १४ गणले गरेका प्रमुख उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुने, संगठनमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तान, इन्द्रसरोवर गाउँपालिकाका प्रमुख देवकृष्ण पुडासैनी, कैलाश गाउँपालिकाका प्रमुख लोकबहादुर मोक्तान, प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने, जिल्ला सुरक्षा समितिका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मी, पूर्व सशस्त्र प्रहरी लगायतको उपस्थिती थियो । हेटौंडा औद्योगिक क्षेत्र स्थित कपडा उद्योग परिसरमा जिल्लाको शान्तिसुरक्षा व्यवस्थापन, राजमार्ग सुरक्षा, कारागार सुरक्षाका साथै विपद् व्यवस्थापनार्थ २०६७ साल वैशाख २६ गते स्थापना गरिएको जिल्ला सुरक्षा वेशलाई २०७५ जेठ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले १४ नम्बर गणका रुपमा स्तरउन्नती गरेको थियो ।














