राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्छः उपप्रधानमन्त्री महासेठ
२९ वैशाख, काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री महासेठले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन ताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले दल भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गर्नुभयो । उपप्रधानमन्त्री महासेठले वर्तमान सरकारले भौतिक प्रगतिको रुपमा राम्रो उपलब्धि पाउने प्रतिवद्धता जनाउनु भयो । उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।














