जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
३१ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमवार सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताउनु भयो । उहाँले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाउनुभयो । सांसद् यादवले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गर्नुभएको बताउनु भयो । उहाँले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको बिरुद्धमा आफूहरु लाग्ने चेतावनी दिनुभयो ।
सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताउनुभयो ।














