प्रतिष्ठान र हेटौंडा अस्पतालको सम्वन्धमा भ्रममा नपर्न आग्रह
२ जेठ, हेटौँडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको सम्वन्धमा भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले सबैले यथार्थ कुरा बुझ्नुपर्ने बताउनुभयो । अरु देशैभरीका प्रतिष्ठान जस्तै यो पनि सरकार मातहत रहेको प्रतिष्ठान भएकोले कुनैपनि भ्रम सृजना पाल्न नहुने उहाँले बताउनुभयो । पूर्व मुख्यमन्त्री पौडेलले प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा उल्लेख्य कामहरु गरेको बताउनुभयो । यस प्रतिष्ठानमा स्वास्थ्य विज्ञान अन्तर्गतका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ । जसमा २ सय ७० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने थप विद्यार्थीहरुलाई पठन पाठन गराउने गरी व्यवस्था गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने हुँदा हेटौंडा अस्पतालको अस्तित्व र इतिहास नमेटिने उहाँले स्पष्ट पार्नुभयो । पूर्व मुख्यमन्त्री पौडेलले स्वास्थ्य सेवामा मकवानपुरबासी आत्मनिर्भर बन्दै गएको, जिल्ला बाहिरका बिरामी समेत उपचार गर्न आउने वातावरण बनेको यथर्थतालाई सबैले मनन गर्नु पर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य बद्री लम्साल, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।














