प्रहरी समायोजन हुन नसक्दा सोचे अनूरुपको सेवा प्रवाह हुन सकेनः मन्त्री श्रेष्ठ

संवाददाता
४ जेष्ठ २०८१, शुक्रबार १९:१७

४ जेठ, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संविधान अनुसार प्रहरी समायोजन हुन नसक्दा सोचे अनूरुपको सेवा प्रवाह हुन नसकेको बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले नेपालको संविधानले नै प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै प्रहरी संरचना प्रदेश सरकार मातहत ल्याउन ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । हेटौंडा उपमहानगरपालिका १५ मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको समारोह व्यवस्थापन तथा प्रहरी बैण्ड शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रदेशमा प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन समस्या परेको जिकिर गर्नुभयो । प्रहरी संरचना गठन गर्ने, परिचालन गर्ने अधिकार प्रदेश सरकारको भएपनि संघीय सरकारका कारण अधिकार प्रयोग गर्न नपाएको उहाँको गुनासो थियो ।


मन्त्री श्रेष्ठले प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण समेत गराईसकेको जानकारी दिदै प्रदेशलाई अधिकार सम्पन्न बनाउन, संघीयता कार्यान्वयन गर्न प्रहरी समायोजन अत्यावश्यक रहेको बताउनुभयो । संविधानलाई अक्षरशः पालाना गर्न संघीय सरकार हिच्किचाउन नहुने धारणा उहाँले राख्नुभयो । मन्त्री श्रेष्ठले यथासीघ्र प्रहरी समायोजन नभए कानुनी उपचार खोज्ने चेतावनी समेत दिनुभयो ।
नवनिर्मित प्रहरी बैन्ड शाखा तीन करोड ७१ लाखमा निर्माण सम्पन्न भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश सरकारले ७२ वटा प्रहरी भवन निर्माण सुरु गरेकोमा हालसम्म ६५ वटा भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । प्र्रहरी भवन निर्माणमा प्रदेश सरकारले करीब ३ अर्व ५० करोड बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*