सशस्त्र प्रहरीद्वारा प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट
४ जेठ, हेटौँडा । मकवानपुर स्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी सहायक निरिक्षक जमिरिलाल राउतको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०२–०३–००१ च ५६८८ नम्बरको योद्धा १५ गाडी चुरियामाईमा चेकजाँच गर्ने माछा बरामत गरेको हो । दुईवटा ड्रममा लुकाइ ल्याइएको अवस्थामा नेपाल सरकारले प्रतिबन्ध लगाएको ४ क्विन्टल मङ्गुर जातको माछा फेला परेको सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर प्रमुख ज्ञान प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
बरामद माछा प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, भेटनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रतिनिधि लगायतको रोहवरमा कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ । मङ्गुर माछामा उच्च मात्रामा मर्करी हुने भएकाले खान अयोग्य मानिएको पशु चिकित्सक डा विजय पौडेलले बताउनुभयो ।














