मकवानपुरका २२ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाउने तयारी

संवाददाता
९ जेष्ठ २०८१, बुधबार १९:०९

९ जेठ, हेटौँडा । मकवानपुरका २२ हजार ५ सय बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउने तयारी भएको छ ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका मकवानपुरका २२ हजार ५ सय बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको हो । यो समयमा ‘आइपिभी’ खोप अभावका कारण खोप लगाउनबाट वञ्चित भएका बालबालिकालाई लक्षित गरी खोप दिन लागिएको हो । जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम २६ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियान मकवानपुरका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला स्वास्थय कार्यालय मकवानपुरले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जानकारी गराइएको छ ।
जेठ १३ देखि १९ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान चलाइने र २६ गतेसम्म स्वास्थ्य केन्द्र मार्फत् खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिनुभयो । खोप कार्यक्रम सम्पन्न गर्न मकवानपुरमा ५ सय ४३ खोप केन्द्र राखिनेछ । सबै स्थानीय तहमा खोप तथा खोपजन्य समग्री पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अभियान अन्तर्गत नेपालभर १४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सानुकाजी लुईटेल, विश्व स्वास्थ्य संगठन आईपीडी डाक्टर समिस्ता वास्तोला, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्याल लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*