शिक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गरि मेरिटवेसमा लैजानुपर्छः मुख्यमन्त्री जम्कट्टेल

संवाददाता
११ जेष्ठ २०८१, शुक्रबार १७:२९

११ जेठ, हेटौँडा । उच्च शिक्षाका चुनौतीहरूः रोजगारी सिर्जना, दिगोपन र कक्षा छाड्ने दर घटाउने विषयक दुई दिने राष्ट्रिय शैक्षिक सम्मेलन हेटौँडामा शुक्रवारदेखि सुरु भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले विद्यमान परीक्षा प्रणालीका कारण देशमा शैक्षिक बेरोजगार बढ्दै गएको बताउनुभयो । अहिलेको शिक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गरि पूर्णरुपमा मेरिटवेसमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । हरेक सार्वजनिक कार्यक्रममा वर्तमान शिक्षा प्रणालीप्रति तीव्र असन्तुष्टि जनाउँदै आउनुभएका मुख्यमन्त्री जम्कट्टेलले प्रवेश परीक्षाको नाममा विद्यार्थीहरुलाई फेल गराएर आफूले पढ्न चाहेको विषय पढ्नबाट वञ्चित गराएकोमा आक्रोश व्यक्त गर्नुभयो । प्रवेश परीक्षामा अधिकांश विद्यार्थी फेल गराएर कन्सल्टेन्सीसँगको सेटिङमा विद्यार्थीलाई बाहिर जान बाध्य बनाइएको मुख्यमन्त्री जम्कट्टेलको आरोप छ ।


मुख्यमन्त्री जम्कट्टेलले श्रोतको अभावको कारण अहिलेको सामुदायिक क्याम्पसहरू समस्यामा रहेको बताउनुभयो । ग्रामीण क्षेत्रको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भूमिका उल्लेखनीय रहेतापनि वर्तमान सन्दर्भमा विद्यार्थी अभावका कारण सामुदायिक क्याम्पसहरु मर्ज गरेर जानुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले स्थानीय तहसँगको सहकार्यमा बागमती प्रदेशमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागूगर्ने बताउनुभयो । आवासीय मोडेलमा एक वडा एक विद्यालयको अवधारणामा प्रदेश सरकार जाने तयारी भइरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।


मकवानपुर वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, विज्ञ सल्लाहकार विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. हृदयरत्न बज्राचार्य, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा लगायतले उच्च शिक्षामा रहेका समस्याबारे बोल्नुभएको थियो । जेठ १२ गतेसम्म चल्ने सम्मेलनमा देशभरका आङ्गिक, सामुदायिक र निजी गरी ६० भन्दा बढी क्याम्पसका करिब तीन सय जना प्राध्यापकको सहभागिता रहेको क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*