मेयर लामाको अभिव्यक्ति प्रति सांसद बर्तौलाको आपत्ती
२४ जेठ, हेटौँडा । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार र सांसद् लक्षित हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले दिनुभएको अभिव्यक्ति प्रति आपत्ती जनाउनुभएको छ ।
सांसद्हरु सरकार बनाउने र गिराउने खेलमा लागेको छ भन्ने मेयर लामाको भनाई प्रति उहाँले आपत्ती जनाउनुभएको हो । जिल्ला समन्वय समिति मकवानपुरको तेश्रो त्रैमासिक समीक्षा कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक बर्तौलाले सरकार बनाउने काम मेयरको नभई सांसद्हरुको भएको भन्दै मेयर लामालाई जवाफ दिनुभयो । वर्तमान निर्वाचन प्रणालीको कारण प्रधानमन्त्रीले डेढ वर्षको अवधिमा ४ पटक सदनबाट विश्वासको मत लिनुपरेको प्रमुख सचेतक बर्तौलाको भनाई छ । उपमहानगरले बनाउँदै गरेको बजेटमा सांसद्हरुको भुमिका र सुझाव खोज्न समेत उहाँले मेयर लामासंग आग्रह गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले तत्कालको स्टण्डको लागि नभई दीर्घकालिन सोचका साथ काम गर्नुपर्ने बताउनुभयो ।

मकवानपुर क्षेत्र नं. २ को सांसद् समेत रहनुभएका प्रमुख सचेतक बर्तौलाले दलहरुबीच हुने वादविवाद विकासको लागि हुनुपर्ने बताउनुभयो । १० वटै पालिकाका जनप्रतिनिधिहरुबीच साझा संकल्प र सहकार्य भए मात्र मकवानपुर जिल्लाको विकास हुने उहाँको भनाई छ । प्रमुख सचेतक बर्तौलाले ४८ सालपछि जिल्लामा सोचेअनुरुप विकास भयो कि भएन भनेर राजनीतिक दलहरुले समीक्षा गर्नुपर्ने बताउनुभयो । लागत र लाभको आधारमा जिल्लाको लागि गेम चेन्जर योजनाहरु छनोट गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले कामको सिलसिलामा आइपरेका समस्याहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।














