महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैनः माधव नेपाल
२७ जेठ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।
एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो । आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क गर्नुभयो । अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गर्नुभयो । उहाँले आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने बताउनु भयो । अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताउनु भयो ।
यता नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले एमालेले माक्र्सवाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गर्नुभएको हो । १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको सम्मानित नेता खनालको भनाई थियो ।
यसैगरी पार्टीका महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताउनुभयो ।














