भारत भ्रमणमा कुनै पनि सन्धि सम्झौता भएको छैनः प्रधानमन्त्री दाहाल
६ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा कुनै पनि सन्धि सम्झौता नभएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री दाहालले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा लिखित रुपमा आमन्त्रण गरेपछि आफु भारत गएको बताउनुभयो । भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने, विगतका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयन, दुई देशबीचका संयन्त्रको बैठकलाई जारी राख्ने, कृषि क्षेत्रको विकास, पञ्चेश्वर आयोजना, माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे पनि छलफल भएको प्रधानमन्त्री दाहालले जवाफ दिनुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणले नेपाल–भारतका बिच आपसी सद्भाव अभिवृद्धि गर्न भुमिका निर्वाह गरेको पनि दाबी गर्नुभयो ।
यस्तै प्रधानमन्त्री दाहालले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउनुभयो । प्रधानमन्त्री दाहालले राजदूतहरूको फिर्ता कानुनी व्यवस्थाअनुसार नै गरिएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति हुने बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताउनुभयो । संसदको काम, कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोशिस गरिएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको परियोजना सेवा मार्फत् जलवायु परिवर्तनसँग अन्तरसम्बन्धित गरी प्रतिवेदन तयार गरिएको र कार्यान्वयमा ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।














