एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति, पहिलो कार्यकालमा ओली प्रधानमन्त्री बन्ने
१८ असार, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो ।
ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ ।














