सूचनाको हकमा महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम

संवाददाता
२१ असार २०८१, बिहीबार २०:०५

२० असार, हेटौँडा । सूचनाको हक सम्बन्धि कानून कार्यान्वयन गर्ने उद्देश्यले हेटौंडामा सूचनाको हकमा महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सूचना आयोगको आयोजना एवम् जिल्ला बार एसोसियसन मकवानपुरको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशकी समाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले सार्वजनिक निकायहरू जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । सहज रुपमा सूचना पाउनु पर्ने सैवैधानिक व्यवस्था भएतापनि सूचनाको पहुँचबाट जनता टाढा रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री मोक्तानले जानकारीको अभावले महिलाले संवैधानिक अधिकार समेत प्राप्त गर्न नसकिरहेको अवस्था रहेको जिकिर गर्नुभयो । मन्त्री मोक्तानले नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने कानुनी व्यवस्था गरेका कारण संसदमा महिलाको उपस्थिति देखिएपनि मन्त्रालय जिम्मेवारीको हिसाबले भने महिलालाई उपेक्षा गरिएकोमा दुख व्यक्त गर्नुभयो । अब बन्ने सरकारमा ३३ प्रतिशत महिला सहभागिता गराएर मन्त्रीपरिषद् गठन गर्न नयाँ गठबन्धनलाई उहाँको सुझाव थियो ।


कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव होम प्रसाद लुँइटेलले सूचनाको हकको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै सचिव लुँइटेलले सूचना लिने र दिने प्रक्रियालाई संस्कृतिकै रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचनाको हक विषय समावेश गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सूचना आयुक्त कमला थापाले सूचनाको हक कार्यान्वयनलाई सार्वजनिक निकायले आफ्नो अनिवार्य जिम्मेवारी भित्र राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायबाट सहजरूपमा सूचना पाउन नसकेको बताएका थिए । कार्यक्रममा मकवानपुर बार एसोसियसनकी अध्यक्ष अप्सरा बस्नेत, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी सभापति अंकिता सुमार्गी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*