असार ३० देखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा

संवाददाता
२७ असार २०८१, बुधबार १८:४०

२६ असार, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असार ३० देखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ ।
एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ वटा क्लब सहभागी हुनेछन् । सहभागी १२ क्लबमा एपीएफ फुटवल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब छन् । खेल डबल राउन्ड रोविनका आधारमा हुनेछन् । तयारी खर्च स्वरुप ३ लाख ५० हजार रुपैयाँ हरेक सहभागी क्लबहरुलाई उपलब्ध गराउने एन्फा प्रवक्ता शाहले जानकारी दिनुभयो ।
प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्समा खेलाउने तयारी भए पनि आवश्यकताका आधारमा अन्य खेल मैदान पनि प्रयोग गर्न सकिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उपविजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित खर्च ८१ लाख ९१ हजार ८० रुपैयाँ रहेको आयोजक एन्फाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*