हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
३० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकालाई विधिवत् रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।
आइतबार आयोजित एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले पूर्ण खोप सुनिश्चित भएको पत्र बाचन गर्दै उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नुभएको हो । उक्त अवसरमा सदस्य सचिव मिजारले नगर प्रमुख मिनाकुमारी लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । राष्ट्रिय खोप तालिका अनुसार १९ वटै वडाका खोप पाउने उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो ।
हेटौंडा उपमहानगरभित्र १६ महिना देखि ५ वर्षसम्मका ७ हजार १ सय ८५ बालबालिकाले निर्धारित सम्पूर्ण खोपको मात्रा पूरा गरेका छन् । ३ हजार ९ सय ४१ बालबालिका पूर्ण खोपको चरणमा रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य साखाका सदस्य सचिव सूर्य प्रसाद तिवारीले जानकारी दिनुभयो । उपमहानगर क्षेत्रका २ जनाले मात्रै कुनै खोप नलगाएको भेटिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाद घिमिरेले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिन भने चूनौती रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले ज्येष्ठ नागरिकका लागि निशुल्क खोप कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो । पालिका पूर्ण खोप समन्वय समिति संयोजक एवं नगर प्रमुख लामाले खोप सुनिश्चिततालाई निरन्तरता दिन उपमहानगर प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतले पूर्ण खोपको निरन्तरताका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।














