केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
३० असार, काठमाडौँ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नु आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोहमा उपस्थित हुन संघीय संसद्का सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ ।














